News















एनसेल सस्तो हुँदा टेलिकमलाई आपत्ति



काठमाडौं, कात्तिक २९ - प्रतिस्पर्धी एनसेलले थि्रजी मोबाइलको महसुल घटाएपछि नेपाल टेलिकमले त्यसप्रति कडा आपत्ति जनाएको छ। टेलिकमले महसुल दरप्रति आपत्ति जनाउँदै हस्तक्षेप गर्न दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण गरेको छ . 

टेलिकमले यो क्षेत्रको नियामक संस्था प्राधिकरणलाई पत्र लेखेर यस्तो प्रतिस्पर्धाले आफूलगायत अरु साना कम्पनीहरु धराशयी हुने वातावरण आउने तर्क गरेको छ। बजारको अवस्था, ग्राहक आधार नहेरी एकैपटक मूल्य घटाउँदा अस्वस्थ प्रतिस्पर्धा भई कम्पनीहरु घाटामा जाने भन्दै टेलिकमले हस्तक्षेप गर्न प्राधिकरणसँग माग गरेको छ।
टेलिकमले प्रिपेड मोबाइलका उपभोक्तालाई प्रति मिनेट ५ रुपैयाँ (कर बाहेक) मा भिडियो कल गर्ने सुविधा दिइरहेकामा एनसेलले हालै एक रुपैयाँ ९९ पैसा लिने गरी महसुल स्वीकृत गराएको छ। प्राधिकरण सञ्चालक समितिले दुई साताअघि यो महसुल स्वीकृत गरेको थियो।

एनसेलले थि्रजी सेवाअन्तर्गत भिडियो कलको महसुल आफ्नोभन्दा आधा बनाएपछि टेलिकमका अधिकारीहरु रुष्ट छन्। उनीहरुले प्राधिकरणबाट यस्तो महसुल स्वीकृत गर्नुअघि अध्ययन, विश्लेषण नगरेको आरोप लगाएका छन्।
टेलिकमले दूरसञ्चार प्राधिकरणलाई गरेको ध्यानाकर्षणमा एनसेललगायत अरु कम्पनीहरुको नाम उल्लेख नगरी प्रतिस्पर्धी सेवा प्रदायकबाट विभिन्न संस्थाहरुमा सम्पर्क राखेर अप्रकाशित महसुल दरमा सेवा दिने प्रस्ताव राखेको समेत उल्लेख छ।
'सेवामा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, कुनै पनि कम्पनीलाई मर्का पर्ने गरी महसुल दर लागु गर्दा नियामक निकायले अध्ययन गर्न आवश्यक छ,' टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। एनसेलले कर्पोरेट अफर अन्तर्गत प्रति मिनेट ६० पैसामा 'क्लोज युजर ग्रुप' खडा गरेर सेवा दिन थालेपछि त्यसप्रति पनि टेलिकमको आपत्ति छ।
सहुलियत दिँदा सामान्य महसुल दर र छुट दरबीच कति अन्तर हुने भन्ने स्पष्ट नीति आवश्यक रहेको धारणा टेलिकम अधिकारीको छ। केही महिनाअघि युनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले भारतमा कल गर्दा प्रति मिनेट ३ रुपैयाँमा महसुल झारेपछि त्यसप्रति पनि टेलिकमको असन्तुष्टि थियो। एनसेलले भिडियो कल र कर्पोरेट अफरको महसुल घटाएपछि टेलिकमले पहिलो पटक नियामक संस्थाको ध्यानाकर्षण गरेको हो।


टेलिकमले प्राधिकरणलाई लेखेको पत्रमा अस्वस्थ किसिमले आफ्नो तर्फ ग्राहक तान्न खोजिएको, अप्रकाशित दररेट लागु गर्दा अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना भएको पनि उल्लेख छ।
एनसेलले सुरु गरेको कर्पोरेट अफरबाट सामान्य ग्राहकलाई भन्दा सम्पन्न व्यक्तिलाई मात्र फाइदा पुग्ने तर्क टेलिकमको छ। 'कर्पोरेट अफरमा दिइएको छुट प्रयोग गर्ने निश्चित हुनेखाने वर्गमात्र हुन्,' टेलिकमका अर्का एक अधिकारीले भने। यसतर्फ प्राधिकरणले उचित नीति लिनुपर्ने ध्यानाकर्षण टेलिकमको छ।
एनसेलले कर्पोरेट अफर सुरु गरेपछि पछिल्लो समयमा ठूला व्यबसायीक घराना, दूतावासहरुको चासो बढेको छ। यो कम्पनीले ब्ल्याकबेरी सेवा सुरु गरेपछि अझै यसका ग्राहक बढेका छन्।
टेलिकमले पठाएको पत्रको विषयमा प्राधिकरण सञ्चालक समितिमा राखेर छलफल हुने निर्देशक आनन्दराज खनालले बताए। 'मूल्य घटाउँदा अर्कोलाई असर पर्छ भन्ने कुरा प्राधिकरणको कार्यक्षेत्र भित्र परे पनि यसमा नियमन गर्न खुल्ला बजारमा सम्भव विषय होइन,' खनालले भने। उनले यो विषयलाई कसरी नियमन गर्ने भन्ने विषयमा केही दिनभित्रै टुंगो लाग्ने बताए।
प्राधिकरणले सेवाको महसुल दरमा नियमन नगरे टेलिकमले आक्रामक रणनीति लिने संकेत गरेको छ। 'हाम्रो रणनीतिले साना सेवा प्रदायकको अस्तित्व संकटमा नपरोस् भन्ने चाहना हो,' टेलिकम प्रवक्ता थिकेले भने। उनले प्राधिकरणबाट उचित निर्णय नभएमा दूरसञ्चार सेवामा नेतृत्वदायी सेवा प्रदायक टेलिकमले यही रुपमा रहन सबै प्रकारको रणनीति लिने बताए।
नेपालमा अहिले टेलिकम, एनसेल, युटिएल, एसटिएम टेलिकम, नेपाल स्याटेलाइट र स्मार्ट टेलिकमले दूरसञ्चार सेवा दिइरहेका छन्। टेलिकम, एनसेल र युटिएलबाहेक अरु लगानी र ग्राहक आधारको हिसाबले साना कम्पनी हुन्। 



इन्टरनेट प्रयोगकर्ता प्रहरीको निगरानीमा

घर वा कार्यालयमा एक मेगाबाइटभन्दा बढी व्यान्डविथ (स्पिड) को इन्टरनेट प्रयोग गर्नुहुन्छ? यदि हो भने तपाईँ प्रहरी अनुसन्धानको घेराभित्र पर्न सक्नुहुन्छ। प्रहरीले प्रति सेकेन्ड एक मेगाबाइट वा यो भन्दा बढी स्पीडको इन्टरनेट सेवा लिने उपभोक्ताको विवरण लिन थालेको छ। 'प्रहरीले हामीसँग एक मेगाबाइट र यो भन्दा बढी स्पिडको इन्टरनेट प्रयोग गर्ने ग्राहकको सूची उपलव्ध गराइदिन पत्र पठाएको छ,' दूरसञ्चार प्राधिकरण स्रोतले भन्यो। 

एक मेगाबाइटको स्पिडलाई नेपालमा उच्च गतिको इन्टरनेटको रुपमा लिइन्छ। अवैध रुपमा भिओआइपी चलाउनेले यो स्पिडमा इन्टरनेट लिने भएकोले तिनीहरुको खोजी गर्न सजिलो पार्नको निम्ति यस्तो विवरण मागिएको हो।

गृह मन्त्रालयले सेवा प्रदायकहरुलाई इन्टरनेटका अश्लील साइटहरु बन्द गर्न निर्देशन दिएको लगत्तै उच्च स्पिडका प्रयोगकर्ताहरुको सूचि मागिएको हो। गृहले कुन साइट अश्लील हुन् भनेर तोक्न नसकेकोले निर्देशन पालना हुन सकेको छैन।
नेपालमा २५६ किलोबिट प्रति सेकेन्ड स्पिडको इन्टरनेटलाई ब्रोडव्यान्डको रुपमा दूरसञ्चार प्राधिकरणले व्याख्या गरेको छ। प्रहरीको निर्देशन अनुसार प्राधिकरणले सञ्चालनमा रहेका सबै इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीहरुलाई पत्र पठाएर यस्ता ग्राहकको विवरण मागेको हो।
'हामीसँग तीनदिनभित्र एक मेगाबाइट प्रति सेकेण्ड स्पिडमा इन्टरनेट चलाउने ग्राहकको विवरण मागिएको छ,' इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष विनय बोहोराले भने। संघले तीन दिनभित्र यस्तो विवरण उपलव्ध गराउन गाह्रो भएको उल्लेख गर्दै थप समय मागेको छ। बोहोराले भने,-'हामीसँग ग्राहकको विस्तृत विवरण मागिएकोले केही दिन थप मागेका हौं।'
प्रहरीले एक एमबिपिएस भन्दा बढी स्पिडको इन्टरनेट प्रयोगगर्नेको स्थान, कुन प्रकृयाबाट दिइएको हो, व्यक्ति भए नागरिकताको प्रतिलिपी र संस्था भए दर्ताको प्रमाणपत्र र आइपी एड्रेस सहित विस्तृत विवरण मागेको छ।
अवैध भिओआइपी सञ्चालन गरिएको ठाउँमा छापा मार्दा उच्च स्पिडको इन्टरनेट प्रयोग गरेको भेटिएको प्रहरीको अनुसन्धानले देखाएको छ। दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ता १३ लाख ५९ हजार छन्। यसमध्य निजी आइएसपीका इन्टरनेट प्रयोगकर्ता ६५ हजार छन्। इन्टरनेट सेवा प्रदायक कम्पनीहरु ३८ वटा छन्।
प्रहरीले एक मेगाबाइट वा यो भन्दा बढी स्पिडको इन्टरने प्रयोगकर्ताको सूचि लिएपछि कारवाही र छानवीन सजिलो हुने अनुमान गरेको छ। घरायसी प्रयोगकर्ताले सामान्य अवस्थामा ५१२ किलोबिट प्रति सेकेन्ड स्पिडको इन्टरनेट चलाउँछन्। फिनल्याण्डले आफ्ना नागरिकहरुलाई दुई मेगाबाइट प्रति सेकेण्ड स्पिडको इन्टरनेटलाई आधारभुत आवश्यकतामा राखेको छ।
'नेपालमा एक मेगाबाइट स्पिडको इन्टरनेटलाई गैर कानुनी धन्दा गर्नेले मात्र चलाउँछन् भन्ने सोचाई राखेर ग्राहकको विस्तृत सूचि मागिएको छ,' एक इन्टरनेट सेवा प्रदायक कम्पनीका अधिकारीले भने।
नेपाल टेलिकमले घरायसी प्रयोजनको लागि एक मेगाबाइट प्रति सेकेण्ड स्पिडको इन्टरनेट अहिलेसम्म दिएको छैन। निजी सेवा प्रदायकहरुले भने ग्राहकको माग अनुसारको स्पिडमा इन्टरनेट दिइरहेका छन्। 'हामीले जति पनि हामीसँग इन्टरनेट लिने उपभोक्ता छन्, ती सबैको विवरण प्राधिकरणलाई नियमित रुपमा बुझाउँदै आएका छौं,' बोहोराले भने।
निजी आइएसपीहरुले एक एमबिपिएसका ग्राहकलाई कर्पोरेट रुपमा मासिक कम्तिमा २५ हजार रुपैयाँ लिएर सेवा दिइरहेका छन्। घरायसी प्रयोगकर्ताको लागि भने ५/६ हजार रुपैयाँमा पनि दिइरहेका छन्। 'घरायसी प्रयोगकर्तालाई दिँदा सेयरिङ गरेर दिने भएकोले सस्तो भएको हो,' अर्का एक इन्टरनेट सञ्चालकले भने।
एनसेलले बुधबारबाट सुरु गरेको थ्रीजी इन्टरनेटको स्पिड ३.६ मेगाबाइट प्रति सेकेण्ड छ। टेलिकमको थ्रीजीको स्पिड भने ३८० किलोबिट प्रतिसेकेण्डमात्र छ।

प्रहरीले इन्टरनेट सेवा प्रदायकहरुसँग सिधै ग्राहकको विवरण मागेको थियो। तर, दूरसञ्चार प्राधिकरणलाई मात्र विवरण बुझाउने जानकारी आइएसपीहरुले दिएका थिए। अहिले प्रहरीले प्राधिकरणमार्फत यस्तो विवरण मागेको हो।

 

 

 

 

साइबरसंसारका सञ्चालक पक्राउ



प्रतिलिपि अधिकार दुरुपयोग गरेको अभियोगमा साइबरसंसारका सञ्चालक अभिनव कसजु र दिपङ्कर कसजुलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ कार्यालयमा छापामारी प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो। काठमाडौंका एसपी रमेश खरेलले प्रतिलिपि अधिकार ऐन र विद्युतीय कारोबार ऐनविपरित काम गरेको अभियोगमा कसजु दाजुभाइलाई पक्राउ गरेको पुष्टि गरे। 'दुवैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ,' एसपी खरेलले भने।

उनीहरुले गिभमीएचडी डटकमको वेबसाइट निर्माण गरी फिल्मको अवैध व्यापार गर्दै आएका थिए। अवैध फिल्मको कारोबार गर्ने गिभमीएचडी डट कमको सञ्चालक कम्पनी ड्रिम्स एन्ड आइडियाज हो। गिभमी एचडी डटकमको डोमेन स्वामित्व पनि उसकै रहेको छ। कम्पनी रजिष्ट्रार कार्यालयमा २४७५१ नम्बरमा दर्ता रहेको ड्रिम्स एन्ड आइडियाज मोडलिङका लागि चर्चित साइबरसंसार डटकमको पनि सञ्चालक कम्पनी हो।
2
साइनबोर्ड राखेरै कारोबार : साइबरसंसार, ड्रिम्स एन्ड आइडियाजसँगै गिभमिएचडीको साइनबोर्ड

संगठित जालोबाट अवैध व्यापार
प्रतिलिपी अधिकार बिना नै हजारौं एचडी र थ्रीडी फिल्मको सूची गिभमीएचडी डट कममा राखिएको छ। ती फिल्म प्राप्त गर्न सो साइटको सदस्यता लिनुपर्छ। २५ हजार र १५ हजार रुपैयाँ तिरेर बन्ने सदस्यले क्रमश ३ सय ३३ र १ सय ७६ वटा फिल्म प्राप्त गर्दछन्। एक दुईटा मात्र फिल्म लिन चाहनेलाई उनीहरुले प्रिपेड ग्राहकको कोटीमा राखेर पैसा असुल्ने गरेका छन्। प्रिपेड तिर्नेहरुले एचडी फिल्मका लागि प्रतिफिल्म एक सय रुपैयाँ र थ्रीडी फिल्मका लागि दुई सय रुपैयाँ लिने गरेका छन्। टोरेन्टबाट अवैध रुपमा डाउनलोड गरिएका फिल्महरु साइबरसंसारको कार्यालय रहेकै टेकूस्थित घरबाट बिक्री वितरण हुन्छन्। शुल्क असुलेपछि प्रतिलिपि अधिकार नभएका त्यस्ता फिल्म उपभोक्ताका ल्यापटप, एक्स्टर्नल हार्डडिस्क तथा उच्च क्षमताका पेन ड्राइभमा ट्रान्सफर गरिन्छन्।
3
२६ अर्ब बढीको अवैध धन्दा
फिल्मका कारोवारवालाले थ्रीडी फिल्म हेर्न आवश्यक पर्ने भिन्नै किसिमको चश्मा समेत बेच्ने गरेका छन्। एचडी नेपाल डटकम प्रिन्ट गरिएको चश्मा चीनबाट ल्याइएको ड्रिम्स एन्ड आइडियाजका अभिनव कसजुले बताए। हल्का कागजको फ्रेममा रंगिन प्लाष्टिक राखेर तयार पारिएको थ्रीडी चश्माको अधिकतम मूल्य पाँच रुपैयाँभन्दा बढी पर्ने देखिँदैन। उनीहरुले यस्तो चश्मालाई १ सय रुपैयाँ लिने गरेका छन्।
बिक्री गरिएको थ्रीडी फिल्म हेर्न आवश्यक चश्मा। 

गिभमीएचडी डटकममा १३ सय बढी फिल्म छन्। नेपालमा अंग्रेजी फिल्म भित्र्याउने जय नेपाल सिनेमाघरको सञ्चालक संस्था क्वेष्ट इन्टरटेनमेन्टका अनुसार एउटा अंग्रेजी फिल्मको प्रदर्शनको अधिकारका लागि मात्र १० देखि ४५ लाखसम्म तिर्नुपर्छ। यसमा पुनर्‌उत्पादन तथा वितरणको अधिकार हुँदैन। प्रदर्शनकै अधिकारको मूल्य हेर्दा समेत गिभमिएचडी डटकममा राखिएका फिल्महरुको सदरदर प्रतिलिपि मूल्य २६ अर्ब रुपैयाँ पर्नसक्छ।



कानुन भन्छ- उनीहरु दोषी हुन्
नेपालको प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार विश्व व्यापार संगठनको सदस्य मुलुकबाट उत्पादित श्रव्य दृश्य रचनाको प्रतिलिपी अधिकार अर्को सदस्य मुलुकमा समेत लागू हुन्छ। नेपाल सन् २००४ देखि संगठनको सदस्य राष्ट्र हो। नेपालकै कानुनले समेत त्यस्ता प्रतिलिपी अधिकार भएको सामग्री बिक्री मात्र हैन भाडामा दिन समेत निषेध गरेको छ। त्यसरी अवैध रुपमा डाउनलोड गरी प्रतिलिपि अधिकार भएको सामग्री बिक्री तथा भाडामा दिए कसुरदातालाई प्रतिलिपि अधिकार ऐन २०५९ ले एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैद गर्न सक्ने व्यवस्था गरेको छ।
5
साइबर कानुन लागू भएका मुलुकमा इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) ले अवैध रुपमा इन्टरनेटबाट सामग्री डाउनलोड गरे उपभोक्तालाई सचेत गराउने तथा राज्यका निकायलाई त्यसको रिपोर्ट दिने जिम्मेवारी हुन्छ। गिभमीएचडी डटकमले उच्च गतिको इन्टरनेट प्रयोग गरी त्यस्ता फिल्म डाउनलोड गर्ने गरेको नागरिकन्युजको अनुसन्धानबाट खुलेको छ।
प्रतिलिपि अधिकार नभएका हिन्दी, अंग्रेजी फिल्मका सीडी, डिभीडीको पुनःउत्पादन लुकीछिपी हुँदै आएको छ। त्यस्ता व्यक्तिहरुलाई सुराकीको आधारमा प्रहरीले छापामारी पक्राउ गर्ने गरेको छ। गिभमीएचडी डटकममा सम्पर्कका लागि दिइएको ४२६०९८९ फोन नम्बर गंगादेवी कसजुको नाउँमा छ। तत्काल सम्पर्क गर्नु परे अभिनव कसजुको ९८५१०५२७०८ र दिपांकरको ९८५१०४७४४७ मोबाइल नम्बर नै साइटमा उपलब्ध छ। अभिनव/दिपांकर राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त विनयकुमार कसजुका छोरा हुन्।

के हो टोरेन्ट ?

फिल्म, डकुमेन्ट्री, गीत, भिडियो गेम, सफ्टवेयर लगायतका फाइलहरु डाउनलोड गर्ने विद्युतीय सफ्टवेयर वा एक किसिमको सर्वर हो- टोरेन्ट। सामान्यतः सर्भरमा राखिएका फाइल इन्टरनेटमार्फत् डाउनलोड गरिन्छ। टोरेन्ट यो भन्दा फरक प्रविधि हो। टोरेन्टमा फाइल डाउनलोड र अपलोड एकै समयमा हुन्छ। मतलब टोरेन्टबाट कसैले फाइल डाउनलोड गर्छ भने डाउनलोड भइरहेको कम्प्युटरबाट अर्को कम्प्युटरका लागि त्यही फाइल अपलोड पनि भइरहेको हुन्छ। यसलाई सिडिङ भनिन्छ।


छिटो गतिको इन्टरनेट हुँदा टोरेन्टबाट सिङ्गै फिल्म डाउनलोड गर्न सकिन्छ। कम गतिको इन्टरनेटबाट यो काम सम्भव छैन। गिभमीएचडी डटकमले उच्च गतिको इन्टरनेटमार्फत् टोरेन्टबाटै डाउनलोड गरिएका फिल्म बिक्री वितरण गर्दै आएको हो।

नागरिकन्युज स्टिङ अपरेसन केही ग्राहक एचडीनेपाल डट कमको  कार्यालयमा पुग्छन्। गोप्य क्यामेराबाट खिचिएको त्यहाँका दृश्य र वार्तालाप तपाईँ यो भिडियोमा हेर्न सक्नुहुन्छ।

भिडियोमा के छ ?
भिडियोका केही मुख्य दृश्य र वार्तालापको संक्षेप-
ग्राहकः एक्सक्युज मी
रिसेप्सनमा रहेकी महिलाः यस
ग्राहकः गिभमीएचडी डट कमको यतै हो ?
रिसेप्सनमा रहेकी महिलाः हजुर
ग्राहकः फिल्म लिने यतै हो ?
रिसेप्सनमा रहेकी महिलाः हजुर
रिसेप्सनमा रहेकी महिलाः मुभी लिन आउनु भएको हो ?
ग्राहकः अँ, अझ मैले त थ्री डी फिल्म चाहेको।
रिसेप्सनमा रहेकी महिलाः ए थ्री डी पनि पाइन्छ
बस्नु न म माथि दाइलाई बोलाइदिन्छु।
(फोनमा कुरा गर्दै) यहाँ आउनुभएको छ एचडी मुभीका लागि।
ग्राहकः कति पैसा, शुल्क ?
रिसेप्सनमा रहेकी महिलाः पर मूभि हन्ड्रेड रुपिज।
ग्राहकः अनि त्यो थ्री डीको पनि एउटै हो?
रिसेप्सनमा रहेकी महिलाः हजुर अँ
ग्राहकः
 त्यसका लागि चश्मा पनि पाइन्छ?

रिसेप्सनमा रहेकी महिलाः अँ, त्यो मूभी लिँदा खेरी त्योसँगै पाउनु हुन्छ।
एकछिनको पर्खाइपछि
अभिनव कसजु आउँछन्।
अभिनवः हार्डडिस्क ल्याउनु भएको छ? कति वटा चाहिने हो ? माथि हाम्रो अर्को भइरहेको छ, छोडेर जानुहुन्छ ?
ग्राहकः 
थ्री डीको एउटा मात्र भए हुन्छ।

अभिनवः ए, एउटा मात्र चाहिने?
ग्राहकः त्यसको चश्मा चाहिने थियो।
अभिनवः कुन चाहिँ लानुहुन्छ?
ग्राहकः 
के के छ हेरौँ न।

अभिनव कम्प्युटरमा गिभमीएचडी डट कम खोल्छन् र त्यहाँ भएका फिल्मका सूचिहरु देखाउँछन्।
ग्राहकः पैसा चाहिँ कति पर्छ?
अभिनवः मूभीको सय रुपैयाँ। अनि चश्माको पनि सय रुपैयाँ।
ग्राहकले एउटा फिल्म रोजेपछि त्यसलाई कपि गर्न हार्डडिस्कसहित अभिनव माथिको कोठामा जान्छन्। एकछिनपछि उनले तल रिसेप्सनमा फोन गरी थ्रीडी मूभीको चाहिँ दुई सय रुपैयाँ र त्यसको चश्माको सय रुपैयाँ पर्ने बताउँछन्। सुरुमा सय रुपैयाँ पर्ने भनेको फिल्मको भाउ एकाएक सय प्रतिशत बढ्छ। (यी दृश्य भिडियोमा देखिएको छैन)
केही मिनेटको पर्खाइपछि अभिनव हार्ड डिस्क र कागजको चश्मा हातमा लिएर आउँछन् र भन्छन्- त्यति बलियो त हैन यो।
ग्राहकः कागजको हो यो?
अभिनव: कागज कै हो।
ग्राहकः राम्रो प्लास्टिकको पाइन्न?
अभिनव: अहिले त छैन। मगाउन चाहिँ मिल्छ।
ग्राहकः यो त साह्रै महँगो पो पर्‍यो त।
ग्राहकः यो चाहिँ यहीँ बनाएको हो कि क्या हो ?
अभिनव: यो अर्डर गर्‍या हो।
ग्राहकः हजुर?
अभिनव: साथीहरुले अर्डर गरेको चाइनाबाट। तपाईँले कहाँबाट थाहा पाउनु भो हाम्रो बारेमा?
ग्राहकः हामीले ? अनलाइनमा। केमा थियो रे विज्ञापन हामीले हेर्‍या?
अर्को ग्राहकः साइबर संसारमा
ग्राहकः ए अँ त साइबर संसारमै हो नि।
अभिनव रिसेप्सनको कम्प्युटरमा बसेर थ्रीडी फिल्म चश्मा लगाएर हेर्दा कस्तो देखिन्छ भनी ग्राहकहरुलाई देखाउँछन्।
ग्राहकः कति भयो यो सुरु गरेको?
अभिनव: तीन चार महिना
ग्राहकः कतिको मान्छेहरु आउँछन्?
अभिनव: थ्रीडीको लागि मात्रै भनेर त आउन्नन्। अरु एचडी मूभीका लागि चाहिँ आउँछन्। थ्रीडी मात्रै त…फिल्मै लिमिटेड छ हैन… १०/१२ वटा फिल्म छ। थ्रीडी मात्रै भनेर चाहिँ आउँदैन के।
ग्राहकः अनि यो ल्यापटपबाट टिभीमा जोड्ने सामान हुन्छ नि त्यसको कति पर्छ? कनेक्टरको?
अभिनव : त्यो ५/६ सय रुपैयाँ होला। न्युरोडतिरको कम्प्युटर पसलहरुमा पाइन्छ।
ग्राहकः टिभीमा हालेर थ्रीडी हेर्दा त मजा हुन्छ होला नि।
अभिनव: हुन्छ, त्यसरी हेर्दा पनि हुन्छ।
ग्राहकः फिल्म महँगो भयो अलि।
अभिनव: फिल्म? लिमिटेड छ। अर्को साथीहरुले पाँच सय रुपैयाँमा बेचिरहेको छ के।
ग्राहकः अर्को भनेको ?
अभिनव: एचडीनेपाल भन्ने छ नि त्यो। त्यहाँका साथीहरुले चाहिँ….
चश्मा लिँदै ग्राहकः यो यहीँ बनाएको हो कि ?
अभिनवः 
यो बाहिरबाट मगाएको हो के। चाइनाबाट मगाएको। हजार पिस जति मगाएको। इन्डियाबाट पनि मगाउन मिल्छ। इन्डियामा अलि महँगो पर्छ तर।

ग्राहकः अनि यो एचडीनेपाल भनेको अर्को हो? थ्रीडी बेच्ने अर्को?
अभिनव: अँ उनीहरु चाहिँ टिभीहरु बेच्छन् के
ग्राहकः डीभीडी मै बेच्ने? यस्ता फिल्महरु डिभिडीमा पाइन्नन्?
अभिनव: पाइन्छ
ग्राहकः कति पर्छ?
अभिनव: हामी कहाँ चाहिँ पाइन्न। एचडी मात्रै हो हामी कहाँ।
ग्राहकः नयाँ रिलिज भएको फिल्म तुरुन्तै आउँछ कि कस्तो हुन्छ यहाँ?
अभिनव: आउँदैन त्यो। एकदेखि तीन महिना लाग्छ।
ग्राहकः जस्तो त्यो इन्सेप्सनहरु हेर्नुपर्‍यो भने?
अभिनव: इन्सेप्सन चाहिँ नोभेम्बरमा मात्रै रिलिज हुन्छ। ब्लकबस्टरहरुलाई चाहिँ अलिकति डिले गर्छ के उनीहरुले।
थ्रीडी बारे उनी ग्राहकहरुलाई सुनाउँछन् यस्तो यस्तो इफेक्ट देखिन्छ भनी




चलाउने हो, पानीले धुन मिल्ने ल्यापटप?


मिनरल वाटरको वोतलले ल्यापटपको किवोर्डमा पानी खन्याउँदा धेरैको मन झसँग हुनसक्छ। विद्युतीय उपकरणमा पानी हालेपछि के होला? बल्लबल्ल किने ल्यापटप 'सट' भएर बिग्रने त होइन। पीर पर्नु स्वभाविक हो। मंगलबार भने दुई मोडलले धमाधम ल्यापटपमा पानी पोखे। धोए र पखाले। तर, ल्यापटप केही भएन। उनीहरुले धोइपखाली गरेको ल्यापटप 'वाटरप्रुफ' र 'डस्टप्रुफ' हो।
कार्यालयको कामको सिलसिलामा धुवाँ, धुलो र पानीमा समेत खट्नुपर्ने व्यक्तिलाई लक्ष्य गरेर एनइसीले नयाँ ल्यापटप नेपालमा ल्याएको छ।


एनइसीको आधिकारिक बिक्रेता इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्न (आइइसी) ले जस्तोसुकै प्रतिकुल मौसम र ठाउँमा चलाउन सकिने सिल्डप्रो एन-२२ ल्यापटपलाई मंगलबारदेखि नेपालमा बिक्री सुरु गरेको हो। यो ल्यापटपको मूल्य कम्तिमा चार लाख रुपैयाँ पर्छ। एनइसी जापानी इलेक्ट्रोनिक्स निर्माता कम्पनी हो।

र्‍याम, हार्डडिस्कले यसको मूल्य कम र बढी छ। यस्तो ल्यापटपको मूल्य नेपालमै पाँच लाखसम्म पर्ने कम्पनीले जनाएको छ।

'कार्यालयभन्दा बाहिर फिल्डमा खटिने व्यक्तिका लागि डिजाइन गरेर यो ल्यापटप बनाइएको हो,' आइइसीका प्रबन्ध निर्देशक अरुणराज श्रेष्ठले भने। सेना, दूरसञ्चार, निर्माण क्षेत्र, जलविद्युत र आकस्मिक सेवाको लागि यो ल्यापटप उपयोगी हुने उनले बताए।

जस्तोसुकै धुलो, धुवाँ, पानीमात्र नभएर हिउँमा समेत यो ल्यापटप प्रयोग गर्न सकिन्छ। १५ हजार फिटसम्मको उचाइमा पनि यो ल्यापटप चलाउन सकिन्छ।
यो ल्यापटपलाई माइनस २० डिग्रीदेखि ५० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा समेत चलाउन सकिन्छ। ल्यापटपमा हिउँ, पानीजस्ता जुनसुकै तरल पदार्थ पर्दासमेत कुनै असर नपर्ने गरी बनाइएको छ। अरु ल्यापटपजस्तो सामान्य ठक्करले समेत नबिग्रनेगरी बनाइनुका साथै सामान्य रुपमा खस्दासमेत नबिग्रने गरी तयार गरिएको छ।
'असामान्य अवस्था, ठाउँमा समेत सजिलोसँग चलाउन सक्ने गरी बनाइएको हुँदा अरु भन्दा केही महँगो भएको हो,' उनले भने। दैनिक प्रयोगको लागि भन्दा पनि व्यावसायिक प्रयोजनको लागि दुर्गम ठाउँमा चलाउने गरी यसको डिजाइन भएको छ।

यो ल्यापटप प्रयोगकर्ताको फिङ्गर प्रिन्ट (औंठाछाप) को आधारमा खोल्न सकिन्छ। १२ दशमलव १ इन्चको टिएफटी एलसिडी स्त्रि्कन, वायरलेस, ब्लुटुथलगायत विशेषता यसमा छन्।

इन्टेलको कोर टु डियो प्रोसेसरजडित यो ल्यापटपको र्‍याम १ देखि २ जिबीसम्म छ। तुलनात्मक रुपमा हार्डडिस्कको क्षमता भने यसमा सानो छ। अहिले नेपालमा ३२ देखि ८० जिबीसम्मको हार्डडिस्क क्षमतामा एनइसीले यो ल्यापटप उपलब्ध गराउने भएको छ।

कम्तिमा ८ देखि १२ घन्टासम्म टिक्ने ब्याट्री रहेको यो ल्यापटपलाई कम्पनीले यो वर्ष ४० वटासम्म बेच्ने लक्ष्य लिएको छ। 'हामीले धेरै अध्ययन गर्‍यौं, दुर्गम ठाउँमा काम गर्नेलाई उपयुक्त ल्यापटपको माग देखेर यहाँ ल्याएका हौं,' श्रेष्ठले भने। एनइसी ल्यापटपको तौल भने अरु सामान्यको जस्तै साढे दुई किलोमात्र छ।

एनइसीले मंगलबारै नेपालमा एक्सप्रेस क्लस्टर एक्स ३.० सिरिजको सफ्टवयर ल्याएको छ। आतंकवाद र दैवी प्रकोपको समयमा हुने सूचनाको नोक्सानीलाई यसले रोक्नेछ। 'एसियामा समय समयमा विपत्तिहरु भइरहने हुँदा यस्ता सफ्टवयरले सम्भावित हानी नोक्सानीलाई नियन्त्रण गर्नेछ,' एनइसी एसियाका क्षेत्रीय निर्देशक डेभिड ओइले भने।

बैंकिङ क्षेत्रमा सूचना प्रविधिको सबैभन्दा जोखिम रहेकोले त्यसलाई समेत हुन नदिन यो सफ्टवयरले काम गर्छ। एनइसीले दूरसञ्चार कम्पनीहरु, कर्पोरेट कार्यालय, डाटा सेन्टरमा हुने सिस्टम फेलिएरलाई पत्ता लगाउन 'मास्टर स्कोप इनभ्यारियन्ट एनालाइजर' लाई पनि नेपालमा ल्याएको छ।





नेपाल टेलिकमको प्रिपेड मोबाइलमा ब्यालेन्स ट्रान्सफर सुरु 


काठमाडौं, भदौ २२  - नेपाल टेलिकमले १४ महिना अघिदेखि रोकेको प्रिपेड मोबाइलको व्यालेन्स ट्रान्सफर सेवा सुरु गरेको छ। परीक्षणको रुपमा अहिले यो सेवा सुरु भएको टेलिकमका अधिकारीहरुले बताएका छन्।

'परीक्षणको रुपमा अहिले सेवा सुरु गरिएको हो, केही समस्या आउँछ या आउँदैन भनेर हेरिरहेका छौं,' टेलिकमको मोबाइल सेवा निर्देशनालयका प्रमुख जीवनरत्न शाक्यले भने। गत वर्षको असार २३ गतेदेखि टेलिकमले जिएसएम (नमस्ते) प्रिपेड मोबाइलमा व्यालेन्स ट्रान्सफर सेवा बन्द गरेको हो। व्यालेन्स ट्रान्सफरको सिस्टममा सुधार गरेर यो सेवा सुरु गरिएको शाक्यले बताए।
'पहिलेजस्तै सिस्टमबाट ग्राहकले व्यालेन्स ट्रान्सफर गर्न सक्छन्,' उनले भने। यसमा समस्या नआए केही दिनभित्रै सेवा पूर्ण रुपमा 

चलाइने र समस्या आयो भने रोकिने उनले बताए।













फेसबुकमा ६ लाख नेपाली


काठमाडौं, भदौ २२ (नागरिक) - सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा आवद्ध हुने नेपाली झण्डै ६ लाख पुगेका छन्। फेसबुकका प्रयोगकर्ता गणना गर्ने साइट फेसबेकर्सका अनुसार, आइतबारसम्म नेपाली प्रयोगकर्ता ५ लाख ८७ हजार पुगेका छन्। यो मध्य पुरुष तीनलाख ९९ हजार नौसय र महिला एकलाख ८० हजार सातसय ४० छन्। इन्टरनेटको पहुँच भएका ९० प्रतिशतभन्दा बढी नेपाली फेसबुकमा छन्।


सबैभन्दा बढी ४६ प्रतिशत १८ देखि २४ वर्ष उमेर समूहका छन्। २५ देखि ३४ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता नेपाली २७ प्रतिशत छन्। फेसबुक प्रयोगकर्ता नेपालीमध्य ३५ देखि ४४ वर्ष समूहका ७ प्रतिशत छन् भने १६ देखि १७ वर्ष समूहका नौ प्रतिशत छन्। ६५ वर्षभन्दा माथि उमेर भएका फेसबुक प्रयोग गर्ने नेपाली एक प्रतिशत छन्।

'फेसबुकको जुन खालले प्रयोगकर्ता बढी रहेका छन्, त्यसले गर्दा साइबर सुरक्षामा निकै ठूलो चुनौति थपिएका छन्,'-प्रमाणिकरण नियन्त्रक राजनराज पन्तले भने। फेसबुक जस्ता सामाजिक सञ्जालबाट सम्बन्ध बढाएर चाँडै विश्वासमा पारेर ह्याकिङ गर्ने समस्या बढ्दै गएको छ।


प्रमाणिकरण नियन्त्रक कार्यालयले आयोजना गरेको मासिक 'मिडिया टेक' कार्यक्रममा पन्तले जोकसैलाई छिट्टै विश्वास गरेर इमेल, डेबिट र क्रेडिट कार्डको बारेमा जानकारी अरुलाई नदिन सुझाव दिए।
फेसबुक, ट्विटर, हाइफाइभ जस्ता साइटबाट मित्रता गाँसेर चाँडै विश्वासमा लिन प्रयास हुन्छ। त्यसपछि विभिन्न सूचना मागेर इमेल, क्रेडिट कार्ड, एटिएम कार्ड ह्याकिङ गर्ने प्रवृत्ति धेरै देशमा सुरु भएको छ। ' यस्ता प्रवृत्तिबाट अर्काको सूचना लिएर दुःख दिन सजिलो
भएको छ,' पन्तले भने।

यस्तो ह्याकिङबाट जोगिन अरु मानिसको छिट्टै विश्वासमा परेर सूचनाहरु नदिने, पासवर्डहरु हरेक ६/६ महिनामा फेरिरहनुपर्ने सुझाव सूचना प्रविधिको क्षेत्रमा कार्यरत विज्ञहरुको छ।